आगामी चुनावमा जित सुनिश्चित छ – एमाले
काठमाण्डौ, चैत्र ८
नेकपा एमालेले आगामी चुनावमा पार्टीको विजय सुनिश्चित भएको दाबी गरेको छ । एमालेले चलाएको मेची- महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयमसेवकलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै पार्टीका शीर्ष नेताहरुले यस्तो दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधव कुमार नेपालले मेची(महाकाली अभियान भव्यताका साथ सम्पन्न भएको बताए । एक ठाउँ (राजविराज) बाहेक अन्यत्र भव्यताका साथ कार्यक्रम सम्पन्न भएको भन्दै उनले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित भएको जिकिर गरे ।
’अबको चुनावमा एमालेको विजय सुनिश्चित भएको छ,’ नेता नेपालले भने, ’एमालेको जितको सुरुवात हुँदैछ, एउटा चुनावको सफलताले अर्को चुनावमा विजय सुनिश्चित गराउँछ।’ संविधानबारे एमालेविरुद्ध फैलाइएको भ्रम चिर्न सफल भएको भन्दै उनले मधेसी मोर्चाले मधेसी जनताका नाममा गलत राजनीति गरिरहेको आरोप लगाए ।
नेपालीले नागरिकता पाउँदा आफूहरुलाई कुनै आपत्ति नरहे पनि विदेशीले नागरिकता पाउन नहुने उनको भनाइ छ । सोही अवसरमा बोल्दै पार्टी महासचिव ईश्वर पोखरेलले अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । आफूहरुले सामाजिक मेलमिलापमा टिकेको राष्ट्रिय एकतालाई थप मजवुत बनाउन चाहेको उनको भनाइ थियो ।
साथै पोखरेलले २ नम्बर प्रदेशमा स्थगित भएको अभियान कसरी अघि बढाउने भन्ने विषयमा छिट्टै निर्णय लिइने जानकारी दिए । सरकारमा रहँदा र नरहँदा गरेका जनपक्षीय कामबारे जनतालाई जानकारी गराइराख्ने उनको भनाइ छ ।
प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार
















