तीन दिनदेखि नै बेपत्ता छन् हायू परिवार, मोवाइलको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप



काठमाडौं । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ भण्डास बिप्पर कटेरीका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायूको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।

सोमबार विहानमात्रै उनीहरु घरमा नभएको खबर बाहिरिए पनि उनीहरु विगत चारदिनदेखि नै बेपत्ता भएको खुलेको छ ।

उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको जनाएको छ ।

बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशंकाले प्रहरी घटनास्थलतर्फ गएको छ ।

तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरुको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दीए ।

बिशेषगरी हायू समुदायको बसोबास रहेको रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।

त्यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन ।

उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सा मा १–२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षती नभएको प्रहरीको भनाई छ ।

घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर तथा वरपरको क्षेत्रमा खोजी गर्दा निजहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बेपत्ता भएकी उर्मिलाका श्रीमान पनि तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ ।

१६ जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले बताएको समाचार आएको छ ।

शनिबारदेखि नै बेपत्ता छन् उनीहरु
स्थानीयले दिएको जानकारी अनुसार उक्त परिवार बस्ने घर अन्य गाउँलेको भन्दा टाढा र एकान्त ठाउँमा छ ।

उनीहरुको घरको नजिकै एक्ले हायू भन्ने अर्का छिमेकीको घर रहेको र उर्मिलाको परिवारले त्यहाँनजिकै भैँसी बाँध्ने गरेको खुलेको छ ।

एक्ले हायुका अनुसार उनीहरु शनिबारदेखि नै भैँसीलाई घाँसपात खुवाउन आएका छैनन् । एक स्थानियका अनुसार एक्ले हायूको परिवारले नै उर्मिलाको भैँसीलाई घाँसपात गरिदिँदै आएका थिए ।

तीन दिनसम्म पनि भैँसी हेर्न नआएपछि के भएछ भनेर हेर्न जाँदा घरका कोही नभएको र सामानहरू भद्रगोल भएको देखेपछि बल्ल उनीहरुले वडाध्यक्ष रविन श्रेष्ठलाई जानकारी गराएको खुलेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्