ठमेलबाट गुन्डा नाइके सानुभाइ पक्राउ



काठमाडौं । राजधानीको ठमेलस्थित नगरकोट दोहोरी साँझमा झैझगडामा संलग्न रहेको आरोपमा कुख्यात ‘गुन्डा नाइके’ युवराज गुरुङ उर्फ सानुभाइ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति भएको झैझगडापछि गुरुङलाई नियन्त्रणमा लिइएको हो ।
गुरुङ ठमेल क्षेत्रमा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन् । सोही क्रममा नगरकोट दोहोरी साँझमा उनी संलग्न समूहले विवाद चर्काएपछि स्थानीयको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

त्यसक्रममा सानुभाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

गुरुङमाथि यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ । यस्तै २०८० सालको माघमा पनि ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले एक पुरूषमाथि कुटपिट गरेको थियो ।

सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको थियो ।
उनी त्यसभन्दा अगाडी २०८० सालको असारमा ओम्निया क्लबमा सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परी १० हजार धरौटीमा छुटेका थिए ।

उनको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्