बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् ।
यही साउन १४ मा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित हुँदा मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब बढेपछि उनले आज राजीनामा दिन लागेका हुन् ।
हिजो (शनिवार) पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए ।
उक्त छलफलमा मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति समेत भएको छ ।
लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा सपथ ग्रहण रोकिएको थियो । त्यसको भोलिपल्ट बिहीवार १ बजे सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिँडेपछि सपथ हुन सकेको थिएन ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार










