चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं, साउन २० । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई भूभागमा रहेको छ ।
मनसुनी प्रभावले आज (मंगलबार) दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
रातिको समयमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार










