कञ्चनपुरमा एक महिला मृत फेला, श्रीमान र ससुरा पक्राउ
धनगढी, साउन २० । कञ्चनपुरको बेलडाँडीमा एक महिला घर भित्रै मृत्यु फेला परेकी छन् ।
बेलडाँडी गाउँपालिका–२ की १८ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका २४ वर्षीय श्रीमान् पवन भट्ट र ससुरा हरिदत्त भट्टलाई पक्राउ गरेको छ ।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले १८ वर्षीया सम्झना भट्ट आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको बताए । प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या दुरुत्साहनसँग सम्बन्धित रहेको देखिएको छ ।
उनकाअनुसारपीडितको माइती पक्षले श्रीमान् र उनको परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।
सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनीहरूको भनाइ छ ।
पक्राउ परेका श्रीमान र ससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी बोहराले बताए ।
सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेको खुलेको छ । विवाहपछि श्रीमान्–श्रीमतीबिच विवाद सुरु भएको थियो ।
शनिबार मात्रै उनीहरूबिच विवाद हुँदा बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुवैलाई सम्झाई–बुझाई घर पठाएको थियो ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार










