सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु
राजविराज, साउन २१ । सप्तरीमा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सो क्रममा यादवको तिघ्रामा गोली लागेको थियो ।
गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार










