चक्रे मिलनलाई भक्तपुरबाट पनि मुद्दा चलाउने तयारी



काठमाडौं । जन्मदिनको पार्टीमा होहल्ला गर्दैगर्दा पक्राउ परेका कुख्यात गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे’ माथि जिल्ला प्रहरी परिसर भक्तपुरले पनि कुटपिट मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

भक्तपुर प्रहरीले एक वर्षअगाडिको घटनामा उनको संलग्नता पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

२०७८ भदौ ४ गते भक्तपुरमा भएको एक कुटपिट घटनामा चक्रे मिलनको संलग्नता पुष्टि भएपछि भक्तपुर प्रहरी कार्यालयले उनलाई प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी गरेको बताइएको छ ।

भक्तपुर प्रहरीका अनुसार चक्रे मिलन हाल काठमाडौं भद्रकालीस्थित प्रहरी हिरासतमा रहेकाले सोही अवस्थामै बयान लिने कार्य अघि बढाइनेछ ।

घटनामा संलग्न भएको आरोपमा पहिलो जाहेरी भदौ ९ गते भक्तपुर जिल्ला अदालतमा दर्ता भएको थियो । पीडित मनिष रायमाझीले ‘डुँडे’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेपछि चक्रेले रायमाझीलाई फोनमा धम्क्याएको र त्यसपछिका दिनहरूमा अजित खवास नेतृत्वको समूहले रायमाझीमाथि कुटपिट गरेको उल्लेख छ ।

प्रारम्भिक अनुसन्धानमा चक्रे मिलनले आक्रमण गर्न खवासलगायतको समूह परिचालन गरेको खुलेको प्रहरीको भनाइ छ ।

सुरुवातमा ठेगाना नखुलेको कारण प्रहरीले मुद्दामा चक्रेलाई प्रतिवादी बनाउन सकेको थिएन । तर हाल उनी प्रहरी हिरासतमा परेपछि उनलाई प्रतिवादी बनाउने प्रक्रिया अघि बढेको हो । थिमी वृत्तले अनुसन्धानको सम्पूर्ण जिम्मेवारी लिएको छ भने अन्य संलग्न व्यक्तिको पहिचान गर्ने कार्य पनि जारी रहेको छ।

प्रहरीका अनुसार, चक्रे मिलनविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र दायर गरिनेछ। भक्तपुर प्रहरीले काठमाडौंको हिरासतमा रहेका चक्रेलाई भक्तपुर ल्याएर बयान लिने र आवश्यक अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।

थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार चक्रे हाल हिरासतमा रहेका व्यक्ति नै हुन् भन्ने प्रमाणित गर्ने प्रक्रिया अगाडि बढिरहेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्