नालाको ठेक्कामा एक लाख घुस लिएको आरोपमा कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नाला निर्माणको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उजुरी निवेदनका आधारमा बर्दिबास कार्यालयबाट खटिएको अख्तियार बर्दिबासको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित असार ३२ गते बुधवार पक्राउ गरेको हो।

थप अनुसन्धानका क्रममा मेयर साहले कल्याणपुर नगरपालिका–६ स्थित पक्की नालाको निर्माणपश्चातको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेषमा शुक्रबार आरोप पत्र दायर गरिएको छ ।

मेयर साहले नगरपालिकामा २० लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको नालासम्बन्धी योजनामा उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए।

उपभोक्ता समितिले सो रकम दिन नसकेपछि साहले योजनाको चेक दिन अस्वीकार गरेका थिए। एक सातासम्म बार्गेनिङ चलिरहेपछि, अन्ततः मेयरले चेक भुक्तानी अघि १ लाख र बाँकी रकम पछि दिने प्रस्ताव राखेका थिए।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्