स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।
आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशीतर्फ दुर्घटना भएको हो ।
दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्सिया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल महिलाको शव निकालिएको प्रहरीले जनाएको छ । घाइते भएका उनका श्रीमान् उत्तम चौहानलाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार
















