७१ सालमा बनिसक्नुपर्ने पुलमा अझै बाँसको टेको, दुईवटै कम्पनी कालोसूचीमा
काठमाडौं । १४ वर्षसम्म पनि कमला नदीको पक्की पुल निर्माण गर्न नसक्ने दुई वटा कम्पनी कालो सूचीमा पर्ने भएका छन् । पुल निर्माणको जिम्मा लिएको एउटा कम्पनी कालो सूचीमा परिसकेको छ भने अर्को पनि कालो सूचीमा पर्दै छ ।
सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदिमा विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित पुल निर्माण सुरु गरिएको थियो ।
तर, चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् । त्यतिमात्रै होइन बाँसको टेकोको भारमा मानिस आवत जावत गर्न बनाइएको पुलमा स्थानीयबासी उल्टै शुल्क तिर्न बाध्य छन् ।
पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।
नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि पहिले ठेक्का सम्झौताअनुसार २० रुपैयाँ लिइने गरिएकोमा अहिले बढाएर ५० रुपैयाँ पुर्याइएको स्थानीबासीको आरोप छ ।
पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएकोमा अहिले काम नै रोकिएको छ ।
बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।
यता, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार
















