हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत वृद्धि
काठमाडाैँ २७ साउन । हिमालयन बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२.१४ प्रतिशतले बढी हो ।
बैंकले अघिल्लो आवको सोही अवधिसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ९.९९ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित बनेको छ ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १०.८६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८७ करोडबाट बढेर १० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ८८ करोडबाट बढेर ५ अर्ब ४३ करोड पुगेको छ ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार
















