निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला



धरान । सुनसरीमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला परेका छन्।

जिल्लाको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला परेका हुन् ।

मृतकहरूमा सोही नगरपालिकाका वडा नम्बर २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् । तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आज बिहान दुहबी-४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा उनीहरू मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

फरेन्सिक परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टर टोली घटनास्थल पुगेको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्