प्रभु बैंकको वितरणयोग्य नाफा ४ अर्ब बढी
काठमाडौं २८ साउन । प्रभु बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा साढे १० गुणाले बढाएको हो ।
आम्दानीमा घटे पनि आव २०८०–८१ मा ५१ करोड ९ लाख रुपैयाँ नाफा गरेको प्रभुले नाफा उल्लेख्य रुपमा बढाउन सक्नुको कारण हो, सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था फिर्ता अर्थात् प्रोभिजनिङ राइटब्याक ।
बैंकले आव २०८१–८२ मा ७ अर्ब १९ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी २ अर्ब १२ करोड २६ लाख रुपैयाँ रहेको छ । यता २ अर्ब ५१ करोड १५ लाख रुपैयाँ नोक्सानी व्यवस्था फिर्ता अर्थात् प्रोभिजन राइट ब्याक गरेको छ ।
जबकि अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा यस्ता आम्दानी क्रमशः ११ अर्ब ८९ करोड ९ लाख र १ अर्ब ९१ करोड ५ लाख थिए । बैंकले अघिल्लो आवमा ४ अर्ब ७१ करोड ९९ लाख रूपैयाँ प्रोभिजन गरेको थियो ।
करिब १ अर्ब १५ करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१–८२ मा १३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी ९ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ थियो ।
बैंकको खर्च यथावत रहेको छ भने २० करोड रुपैयाँ गैरसञ्चालन खर्च देखिएको छ ।
नाफा उल्लेख्य मात्रामा बढ्दा प्रभुको प्रतिसेयर आम्दानीमा भारी सुधार आएको छ । २०८१ असार मसान्तसम्म २ रुपैयाँ ४७ पैसा रहेको ईपीएस २०८२ असारमा २३ रुपैयाँ १२ पैसा कायम भएको छ ।
यता बक्यौता ब्याज उठाएर १ अर्ब ५२ करोड ७ लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर ३२ करोड रुपैयाँ सो कोषमा थप गरेको छ । यसरी बैंकले गरेको ५ अर्ब ४४ करोड रुपैयाँ नाफामध्ये ४ अर्ब ७ करोड ६ लाख रुपैयाँ लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ । यद्यपि गत आवसम्म रहेको ३ अर्ब २ करोड ५५ लाख रुपैयाँ सञ्चित घाटा घटाउँदा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा अर्थात् रिटेन्ड अर्निङ १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २५ लाखका आधारमा बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत देखिन्छ ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार
















