अब ब्ल्याकमेलिङ र आणविक खतराहरू सहन सक्दैनौं : नरेन्द्र मोदी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब ब्ल्याकमेलिङ सहन नसक्ने बताएका छन् । ७९ औं स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्लीको लाल किल्लामा भारतको झण्डा फहराएका मोदीले यस्तो बताएका हन् ।
मोदीले स्वतन्त्रता दिवसमा लगातार १२ औंपटक लाल किल्लाको पर्खालबाट राष्ट्रलाई सम्बोधन गरे । प्रधानमन्त्री नरेन्द्र लाल किल्लाको पर्खालबाट अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको समेत बताए । भारतका बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएको मोदीले बताए ।
‘भारतले निर्णय गरेको छ कि हामी अब आणविक खतराहरू सहन सक्दैनौं । हामी अब ब्ल्याकमेलिङ सहन सक्दैनौं,’ उनले भने, ‘हाम्रा बहादुर सैनिकहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिए । पूरा भारत क्रोधले भरिएको छ। यस प्रकारको नरसंहारबाट सम्पूर्ण विश्व स्तब्ध भएको छ। अपरेशन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो । भारतले रगत र पानी एकसाथ बग्ने छैन भन्ने निर्णय गरेको छ । भारतीय नदीहरूको पानीले शत्रुहरूको खेत सिँचाइ गरिरहेको छ। भारतले आफ्नो भागको पानी पाउनेछ।’
सम्बोधनका क्रममा मोदीले आफ्नै मेड इन इन्डिया लडाकु विमानहरूको लागि आफ्नै जेट इन्जिन हुनुपर्ने बताए । उनले अरूमा धेरै निर्भर हुँदा स्वतन्त्रताको प्रश्न आफैंमा धमिलो हुनेसमेत धारणा राखे ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार
















