६ करोड भन्दा बढी क्रिप्टो कारोबार गर्ने दुई भारतीयसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) तथा हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरेका छ। काठमाडौंको कालोपुल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवाल रहेका छन् ।
त्यसैगरी बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई नगरपालिका–५ का २५ वर्षीय मनमोहन कुमार सिंह छन् ।
प्रहरीले पक्राउ परेकाहरुको कोठाबाट विदेशी मुद्रा तथा नगद बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार साउन २९ गते दिउँसो काठमाडौं महानगरपलिका–५ कालो पुल नजिक डेरा कोठाबाट हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले १५ लाख ३३ हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका ५ वटा मोबाइल समेत बरामत गरेको छ ।
बोहराका अनुसार अनुसन्धानको क्रममा उनीहरुले ६ करोड ६ लाख ६३ हजार ६३६ रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको समेत खुलेको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार
















