टप एन्ड टी-२० सिरिज : नेपालले मेर्लबर्नलाई दियो १४० रनको लक्ष्य
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा आफ्नो पाँचौं खेल खेलिरहेको नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको मध्यम लक्ष्य दिएको छ ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।
नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए ।
रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिए ।
लोकेश बमले १६ बलमा २४ रन बनाए । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए ।
नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो ।
नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो ।
सिरिजमा ११ टोली सहभागी छन्। सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान एु, बंगलादेश एु र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।
अन्यमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका एकेडेमीलगायत छन्।
प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार
















