धादिङका नीलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिका उत्कृष्ट
काठमाडौँ, ६ भदौ। आर्थिक वर्ष २०८०/८१ मा नीलकण्ठ नगरपालिका धादिङ उत्कृष्ट काम गरेको छ ।
यहाँ आज मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गुणस्तर परीक्षणपश्चातको नतिजा प्रतिवेदन सार्वजनिक गर्दै नीलकण्ठ नगरपालिका प्रथम, खैरहनी नगरपालिका चितवन द्वितीय र तिलोत्तमा नगरपालिका रुपन्देही तृतीय भएको घोषणा गर्नुभयो ।
त्यसैगरी, गाउँपालिकामध्ये बेनिघाट रोराङ गाउँपालिका धादिङ प्रथम, रुरुक्षेत्र गाउँपालिका गुल्मी द्वितीय र अर्जुनचौपारी गाउँपालिका स्याङ्जा तृतीय भएका छन् ।
मन्त्री न्यौपाने र सचिव रविलाल पन्थले संयुक्त रूपमा गुणस्तर परीक्षणपश्चातको नतिजा प्रतिवेदन सार्वजनिक गर्दै उच्चतम अङ्क प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकाको नाम सार्वजनिक गर्नुभएको थियो । मन्त्री न्यौपानेले आजै शुभारम्भ गरिएको स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई सबै गाउँपालिका र नगरपालिकाले प्रभावकारी रूपमा कार्यन्वयनमा ल्याई शासकीय अभ्यासको उच्चतम प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गाउँपालिका र नगरपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमार्फत शासकीय अभ्यासमा देखाएको अग्रसरताले सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र सुशासनमा टेवा पुगेको र आज शुभारम्भ भएको नयाँ प्रणालीले गाउँपालिका र नगरपालिकाको शासकीय अभ्यासलाई थप उचाइमा पुर्याउने बताउनुभयो ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन आव २०७६/७७ बाट सुरु गरिएको भएता पनि मन्त्रालयले गुणस्तर परीक्षण गरी नतिजा प्रतिवेदन सार्वजनिक गरेको यो दोस्रोपटक हो ।
मन्त्रालयले विगतमा कार्यान्वयनमा रहेका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली, स्थानीय तह आर्थिक सुशासन जोखिम मूल्याङ्कन प्रणाली र स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणालीलाई एकीकरण गरी आव २०८२/८३ देखि स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार












