यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ ८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ भने बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ८ भदौ २०८२, आइतबार












