थारु समुदायको अटवारी, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा



काठमाडौँ, भखौ ८ । थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। लुम्बिनी प्रदेश सरकारले आज अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

थारू समुदायको बसोबास धेरै रहेका लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो । थारू समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पु¥याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मानिन्छ ।

दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।

पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए ।

भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीम जस्तै बलियो हुनका लागि पानी समेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

प्रकाशित मिति: ८ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्