सडकमा सुटकेसभित्र महिलाको शव भेटियो



काठमाडौं । रौतहटको मुडवालवा सडकमा मध्यरातमा सुटकेसभित्र महिलाको शव फेला परेको छ ।

गौर नगरपालिका वडा नम्बर ९ पर्ने गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक साढे १० बजे सुटकेसमा महिलाको शव फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

डोरीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र अन्दाजी ३०वर्षीया महिलाको शव देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए । मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

यस अघि गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको एक होटलमा शव फेला परेको थियो ।

प्रकाशित मिति: ८ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्