ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



नवलपरासी, भदौ ९ । नवलपरासीको नारायणी नदी पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हिजो (आइतबार) साँझ गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन् ।

उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्