भेप तस्करीको ट्रान्जिट बन्दै नेपाल, भारततर्फ तस्करी हुँदै गर्दा ४८ लाखको भेप बरामद
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट (बिओपी)शक्तिपुर बर्दियाले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा अवैध चाइनिज ‘इलेक्ट्रिक चुरोट’ (भेप) बरामद गरेको छ ।
मध्यरातमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले करिब ४८ लाख ५ हजार मुल्य बराबरको ‘स्पेसम्यान एसपी ४००००’ मोडलको भेप नियन्त्रणमा लिएको हो ।
बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलाराम चोकको बाटोहुँदै मध्यरातमा नेपालबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा भेप बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण हेडक्वाटरले जनाएको छ ।
तस्करहरुले साइकलमा लोड गरेर भारततर्फ लैजादै गर्दा भेप बरामद भएको हो । सशस्त्र प्रहरी देख्नासाथ उनीहरु सामान छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरी बलले जनाएको छ।
बरामद गरिएको अन्दाजी ४८ लाख बराबरको भेप र ५ हजार मुल्य बराबरको दुईवटा साइकल छोटी भन्सार कार्यालय गुलरियामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
नेपालमा चाइनिज इलेक्ट्रिक चुरोट अवैध मानिन्छ । भारतमा यसको मुल्य महँगो पर्ने भएकाले भारततर्फ तस्करी हुँदै आएको छ ।
यसअघि कोरोनाका कारण लकडाउन भएका बेला भेपको तस्करी बढेको थियो ।
त्यस्तै गत पुसमा पनि राजस्व अनुसन्धान कार्यालय बुटवलले २ हजार ६ सय पिस भेप बरामद गरेको थियो। तीन जनासहित एउटा व्यावसायिक फर्मलाई प्रतिवादी कायम गरेर मुद्दासमेत बुझायो। अनुसन्धान प्रतिवेदनको अनुसार त्यतिबेला पनि भेप चीनबाट नेपाल भित्रिएर भारत तस्करी हुने गरेको खुलेको थियो ।
भेपतस्करी प्रकरणमा सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले आरोपित १२ जनाविरुद्ध पौने २ अर्ब रुपैयाँ जरिवाना र जेल सजाय माग गर्दै गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
सिल्कले चीनसँगको आयात व्यापारमा करिब १०० कन्टेनरमार्फत ढुवानी सेवा सञ्चालन गर्दै आएको छ। विभागले गत पुस २२ मा सिल्कको गोदाम महालक्ष्मी नगरपालिका–४ शीतलहाइटबाट चोरी पैठारी गरी लुकाइराखेको अवस्थामा ८६ हजार ४ सय थान भेप बरामद गरेको थियो।
विभागले त्यसको भोलिपल्टै सिल्क ग्रुपअन्तर्गत सञ्चालित बालकुमारी र नक्साल गोदामबाट कागजपत्र र कम्प्युटर डिभाइस बरामद गरेको थियो। सोही प्रमाणका आधारमा अध्यक्ष शेर्पा, सिल्कका कर्मचारी विजय शेर्पालाई मुख्य अभियुक्त बनाएर विभागले मुद्दा दायर गरेको थियो।
विभागले सिल्कबाट भेप राख्न प्रयोग गरिएको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सिल्ककै कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रुपमा मानेर मुद्दा दायर गरेको छ।
सिल्कअन्तर्गतका अन्य विभिन्न पाँच वटा कम्पनी खडा गरी मौज्दात रहेको ३८ हजार ९२४ थान भेप बिलबिजक जारी नगरी बिक्री गरेको देखिएको विभागले जनाएको थियो ।
सिल्क ग्रुप र अन्तर्गतका सात वटा फर्मले भन्सार नाकाबाट चोरी पैठारी गरी ल्याएको ३ लाख १६ हजार ३१५ थान भेपको स्थानीय खरिद गरेको नक्कली कागज देखाइएको विभागको छानबिनको निष्कर्ष छ। सिल्कका अध्यक्ष शेर्पा भने अझै फरार छन् ।
२०८१ को साउनमा पनि सशस्त्र प्रहरी वीरगञ्जबाट पनि भेप बरामद गरेको थियो। वीरगंज–१६ स्थित भन्सार कार्यालयको मुख्य गेट नजिकैबाट ४५० थान भेप बरामद भएको थियो। तस्करी गर्ने समूहले टाँगाभित्र फल्स बटम बनाएर भेप लुकाएका थिए।
प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार
















