आजको मौसम : यी स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ, भदौ १० । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसको प्रभावले देशका केही स्थानको मौसम बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार












