भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फिर्ता
काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फिर्ता भएकी छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएकी उनी मध्यरातमा स्वदेश फिर्ता भएकी हुन् ।
उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरे ।
त्यसअवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए ।
यस्तै, उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन् ।
यही भदौ ७ गते नेपाल भ्रमणमा आएकी उपराष्ट्रपतिले सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेकी थिइन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन् । भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार












