नेपालको बाटो हुँदै मलेसिया पुगे तीन पाकिस्तानी, भारत प्रवेशको हल्ला असत्य !



काठमाडौं । नेपालमार्ग हुँदै भारत प्रवेश गरेको भनिएका तीन पाकिस्तानी नागरिक मलेसिया पुगेको अध्यागमन विभागले स्पष्ट पारेको छ ।

विभागका अनुसार पाकिस्तानी नागरिक हसनैन अली र आदिल हुसैन यही अगस्ट ८ मा नेपाल आएका थिए । उनीहरू १५ अगस्टमा मलेसिया पुगेका छन् ।

त्यस्तै, अगस्ट १० मा नेपाल आएका मोहम्मद उस्मान २४ अगस्टमा मलेसिया गएको पुष्टि भएको छ । “उनीहरू पाकिस्तानबाट दुबई हुँदै नेपाल आएका र केही दिन बसेर मलेसिया गएका देखिन्छन् । भारत प्रवेशको कुनै प्रमाण छैन” भन्दै बाहिर आएको हल्लाप्रति विश्वास नगर्न विभागले आग्रह गरेको छ ।

यसअघि भारतीय सञ्चारमाध्यमले जैस–ए–मोहम्मद समूहसँग संलग्न भनिएका तीन पाकिस्तानी बिहार प्रदेश प्रवेश गरेको भन्दै समाचार सम्प्रेषण गरेका थिए । त्यसपछि भारतले सीमामा सुरक्षा कडाइ गरेको थियो ।

तर अध्यागमन विभागले प्रमाणसहित ती तीनै जना मलेसिया उडेका तथ्य सार्वजनिक गरेपछि नेपालमार्ग हुँदै भारत प्रवेश गरेको दाबी निराधार सावित भएको छ ।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्