नेप्सेमा ३१.१७ अंकको गिरावट, कारोबार पनि घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.१७ अंकले घटेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २,७४९.३० विन्दुमा बन्द भएको छ ।

कारोबार रकम पनि दुई अर्ब रुपैयाँले घटेको छ । आज ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गएको बिहीबार आठ अर्ब नौ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

यस दिन सेयर कित्ता कारोबार पनि घटेको छ । एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ । बिहीबार एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर खरिदबिक्री भएको थियो ।

नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ। यी कम्पनीको गएका तीनरचार कारोबार दिनमा सर्वाधिक मूल्यको सेयर खरिदबिक्री हुँदै आएको छ ।

नेपाल पुनर्बिमा कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । हिमालयन डिस्टिलरीको २६ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज २१ कम्पनीको सेयरमूल्य बढ्दा २२८ कम्पनीको घटेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य स्थिर छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.७७ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । सर्वाधिक घट्नेमा विकास बैंक समूह छ ।

प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्