प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, साँझ साढे ८ बजे नेपाल आइपुग्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल राति साढे ८ बजे काठमाडौं आइपुग्ने छन् ।

प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए ।

शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । उनले शिखर सम्मेलनलाई सम्बोधन गरे ।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका थिए ।

यस्तै भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सम्मेलनकै क्रममा उनले भारती प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्