विरेन्द्रभक्तले चौथोपटक जिब्रो छेडाउँदै



काठमाडौं, भदौ १९ । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने भएका छन् । यो वर्षसहित उनी चौंथो पटक जिब्रो छेड्न लागेका हुन् ।

येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा अन्तर्गत हुन लागेको यस विशेष संस्कारमा उनले फलामको सुइरोले जिब्रो छेडाउने छन् ।

श्रेष्ठले २०७४ सालमा पहिलोपटक यो परम्परा पुनः सुरु गर्दै जिब्रो छेडेका थिए । यस वर्ष जिब्रो छेडेर भ्ये (महादीप) काँधमा बोकेर खाली खुट्टा भक्तपुर नगरका प्रमुख मन्दिरहरु नवदुर्गा र दत्तात्रयसम्मको परिक्रमा गर्ने छन् ।

करिब १० किलोमिटर लामो यात्रामा सयौं मानिसहरु, धिमे बाजा र युवाहरुको सहभागिता रहनेछ । यस परिक्रमा मार्गमा थिमिको विभिन्न टोलहरुदेखि भक्तपुर दरबार स्क्वायर हुँदै पुनः बालकुमारी मन्दिरसम्मको यात्रा समेटिएको छ ।

किम्बदन्तीअनुसार प्राचीन कालमा थिमिमा भूतप्रेत र पिशाचहरूको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रममा गराइएको र त्यसपछि भूत, प्रेत, पिचास भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब १ फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर यात्रा गर्दै अन्तिममा पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा छ । जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्