आजको चन्द्रग्रहण कहाँ र कसरी हेर्ने ?



काठमाडौं, भदौ २२
यस वर्ष आकाश अवलोकनकर्ताका लागि एक विशेष उपहार छ । किनभने, आज एक सानदार पूर्ण चन्द्रग्रहण लाग्दै छ । यो एसिया, अफ्रिका र अस्ट्रेलियाका धेरै भागबाट स्पष्टरूपमा देखिनेछ ।

रक्तचन्द्र पूर्ण चन्द्रग्रहणलाई दिइएको एक उपनाम हो । जुन चन्द्रमा पृथ्वीको छायामा पूर्णरूपमा प्रवेश गर्दा उत्पन्न हुन्छ । यस समयमा चन्द्रमा अँध्यारोमा हराउनुको सट्टा गहिरो रातो वा ताम्र रंगमा परिणत हुन्छ ।

जब सूर्यको किरण पृथ्वीको वायुमण्डल हुँदै जान्छ । यो छानिन्छ र छरिन्छ । धेरै निलो प्रकाश छरिन्छ । जबकि, रातो प्रकाश पृथ्वीको वायुमण्डलको छेउबाट बांगिँदै चन्द्रमामा पुग्छ । जसले चन्द्रमालाई रहस्यमयी रातो चमक प्रदान गर्छ ।

कहिले र कहाँ हेर्ने ?
यो चन्द्रग्रहण ७ सेप्टेम्बर २०२५ (भदौ २२) को राति देखिने छ । बीबीसी स्काई एट नाइट म्यागजिनका अनुसार, यो पूर्ण खगोलीय घटना नेपाल, भारत, चीन, रुस, पश्चिमी अस्ट्रेलिया, पूर्वी अफ्रिका र मध्य एसियाबाट स्पष्टरूपमा देखिनेछ ।

ग्रहणको अवधि नेपाली समय सेप्टेम्बर ७ (भदौ २२) को राति ८ः४३ बजे सुरु भई सेप्टेम्बर ८ को बिहान २ः१० बजे समाप्त हुनेछ । तर ग्रहणको पूर्ण अवस्था भने सेप्टेम्बर ७ को राति १०ः४५ बजेदेखि सेप्टेम्बर ८ को बिहान १२ः०७ सम्म रहनेछ ।

८२ मिनेट लामो चन्द्रग्रहण हालैका वर्षहरूमा देखिएका सबैभन्दा लामो पूर्ण चन्द्रग्रहणहरूमध्ये एक हो । साथै, यो चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दु मा पुग्नुभन्दा ठिक अघि हुने भएकाले आकाशमा सामान्यभन्दा अलिकति ठूलो पनि देखिनेछ ।

प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्