आरआर क्याम्पसमा मतदान सुरु, बाहिर तनाव


 


काठमाण्डौ, चैत्र १५

प्रदर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान भइरहेको छ । बिहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घण्टा ढिलो सुरु भएको निर्वाचन समितिका सदस्य विनोद मन्जनले जानकारी दिए । निर्वाचन रोक्न माग गर्दै नेकपा माले, वैद्य माओवादी, विप्लव माओवादी र नयाँ शक्ति पार्टीका संयुक्त विद्यार्थी संगठनको नाममा प्रदर्शन र नाराबाजी भइरहेका कारण क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको छ ।

यसअघि फागुन २३ का लागि तय भएको आरआरको स्ववियु निर्वाचन निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले निर्वाचन रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो । आन्तरिक विवादका कारण अन्योलमा रहेको नेविसंघले आइतबार मात्र मनोनयन दर्ता गराएको थियो ।

क्याम्पस प्रशासनले एकलौटी ढंगले निर्वाचन गराउन खोजेको भन्दै गठबन्धनले बहिस्कार गरेको अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले जानकारी दिए । निर्वाचनमा प्रमुख तीन दलनिकट नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेसम्वद्ध अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही, कांग्रेससम्वद्ध नेविसंघबाट उत्तम साउद र माओवादीसम्बद्ध अखिल क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको प्यानल छ ।

निर्वाचनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफूलाई भोट नदिन आग्रह गर्दै शुन्य भोट भागेको छ । उम्मेदवारी फिर्ता लिन नपाएको भन्दै उसले आफूलाई भोट नदिन आग्रह गरेको हो । आरआरमा पहिले अखिलको मात्र उम्मेदवारी परेको थियो । नेविसंघ र क्रान्तिकारीसहित ९ विद्यार्थीले बहिस्कार गरेपछि फागुन १८ मा देशका अधिकांश क्याम्पसमा चुनाव हुँदा आरआरमा रोकिएको थियो र २३ गतेको मिति तोकिएको थियो ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्