शंकर ग्रुपको प्रस्टोक्तीः सुदन गुरुङको संस्थासँग आबद्ध छैनौं



काठमाडौँ ३० भदौ। शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले जेन–जी आन्दोलनकारी समूहका अगुवा भनिने सुदन गुरुङ र उनको संस्था ‘हामी नेपाल’सँग जोडेर आएका समाचारहरुप्रति खण्डन गरेको छ ।

दुवै संस्थाले संयुक्त बिज्ञप्ति जारी गर्दै गुरुङले नेतृत्व गर्ने ‘हामी नेपाल’ संस्था र उसको राजनीतिसँग आफ्नो कुनै संलग्नता र सरोकार नरहेको जनाएको हो ।

केही दिनयता जेनजी अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीप्रति इन्फिनिटी होल्डिङ्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका बेला इन्फिनिटी होल्डिङ्सले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्यकर्म गर्नुपर्दछ भन्ने उद्देश्यले सुदन गुरुङ संलग्न संस्था ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेको तर त्यसपछि कुनै सम्बन्ध र सहकार्य नरहेको उसले स्पष्ट पारेको छ ।

‘हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीको उपचार र पुनर्स्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ, उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीलाई सहयोग गर्न उहाँहरूलाई परिचालन पार्टनर छनोट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।’

त्यसबेला उक्त सहयोग पारदर्शी रूपमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको र त्यतिबेलै सार्वजनिक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको इन्फिनिटीले जनाएको छ । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि इन्फिनिटीले गरेको सहयोगलाई पारदर्शी रूपमै उल्लेख गरेर इन्फिनिटीको लोगो प्रयोग गरेको थियो ।

त्यसयता सुदन गुरुङ र उनको संस्थासँग कुनै पनि सहकार्य नगरिएको र उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग कुनै सरोकार र सम्बन्ध नरहेको इन्फिनिटीको भनाइ छ ।

तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्स तथा यसका सञ्चालकहरूसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोड्ने र भ्रामक खबरहरू प्रकाशन गरिनु दुःखद रहेको भन्दै इन्फिनिटी होल्डिङ्सले यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले आफूहरूसँग सोधखोज नगरेको एवं सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन र प्रसारण गरेको गुनासो गरेको छ ।

प्रदर्शनकारीले गरेको आगजनीबाट ध्वस्त हिल्टन होटल । यो होटल शंकर ग्रुप अन्तर्गतको इन्फिनिटी होल्डसङ्सले सञ्चालन गरेको थियो ।

नेपालमा पछिल्लो पटक स्थापना भएर प्रमुख पाँचतारेमा दरिएको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड हिल्टनको नेपालस्थित सञ्चालक कम्पनीले ठूलो जोखिम मोलेर नेपालमा लगानी गर्नु गल्ती हो भन्दै प्रश्न गरेको छ ।

जेनजी समूहको अगुवाइमा २३ भदौमा सुरु भएको विध्वंसकारी प्रदर्शनको भोलिपल्ट काठमाडौं नक्सालस्थित प्रमुख पाँचतारे होटल हिल्टन प्रदर्शनकारीको निसानामा परेको थियो । प्रदर्शनकारीले हिल्टनमा तोडफोड गरेपछि आगजनी गरेका थिए । आगजनीबाट होटल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगजनीबाट हिल्टनको भवन समेत काम नलाग्ने गरी क्षति भएको छ ।

प्रदर्शन क्रममा क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटामा आफूले सञ्चालन गरेको होटल हिल्टन पनि परेको होटल सञ्चालक कम्पनी इन्फिनिटी होल्डिङ्सले जनाएको छ ।

‘विभिन्न बाधा–व्यवधान हुँदाहुँदै हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल हिल्टन खरानीमा परिणत भएको छ,’ इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र सञ्चालक साहिल अग्रवालले जारी गरेको विज्ञप्तिमा छ, ‘यसबाट भौतिक क्षतिमात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो रु हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।’

प्रत्यक्ष रूपमा इन्फिनिटी होल्डिङ्स होटल हिल्टनको लगानीकर्ता भए पनि यसमा आमनेपाल र नेपालीको गौरव जोडिएको महसुस गरेको उनीहरूको भनाइ छ ।

‘यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना ९आगो लगाउने कार्य० ले विदेशी पर्यटक मात्र होइन, सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ,’ विज्ञप्तिमा छ, ‘तर, हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरलाई तिलाञ्जली दिएर देशमै केही गरौं भनी आफ्नो उद्यमशीलता सुरु गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट सरु गर्नेछौं र नेपाल अनि नेपालीका लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।’

इन्फिनिटी होल्डिङ्सले जेनजी प्रदर्शनले देशमा नयाँ परिवर्तन ल्याएको र आन्दोलन क्रममा सहादत प्राप्त दजर्नौंप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्