विपदमा जनताको सेवा र सुरक्षामा खटिन युवा संघको आह्वान



काठमाडौँ १८ असाेज । नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्पूर्ण अवस्थामा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रियतापूर्वक खटिन आह्वान गरेको छ।

संघका अध्यक्ष क्षितिज थेबेले शनिबार एक विशेष सर्कुलर जारी गर्दै युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन्।

सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न आग्रह गरिएको छ।

साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न पनि संघले अनुरोध गरेको छ।

युवा संघले विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि सबै संरचनालाई निर्देशन दिएको छ। मौसम विज्ञान विभागले असोज २० गतेसम्म भारी वर्षा हुने सम्भावना औँल्याएकाले सम्भावित जोखिम क्षेत्रका युवाहरूलाई उच्च सावधानी अपनाउन संघले आह्वान गरेको छ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्