पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना हुने व्यवस्था
काठमाडौँ, १८ असार । पेट्रोलपम्प बन्द गरेर कृत्रिम रूपमा इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था गरिएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै उचित कारणबिना पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था गरेको हो।
पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मङ्गलबार निगमका डिपोबाट इन्धन नउठाउँदा बुधबार देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित बनाउने व्यवसायीलाई कारबाही गर्ने स्पष्ट कानुनी आधार नभेटिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नयाँ व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।
मन्त्रीको निर्देशनपछि बुधबार साँझ बसेको निगमको सञ्चालक समिति बैठकले विनियमावलीको दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुक्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ व्यवस्था थप गरेको छ।
संशोधित व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक कसुर दोहोरिए छ लाख रुपैयाँ जरिवाना र १० दिनसम्म आपूर्ति रोक्का गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिवाना गरी १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थासँगै अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही गर्न कानुनी आधार तयार भएको निगमले जनाएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












