इलाममा बाढीपहिरोमा परेर दुई जनाको मृत्यु, १५ जना बढी बेपत्ता
विराटनगर, असोज १९ । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर इलामका दुई जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न ठाउँमा खसेको पहिरोमा परि १५ जना भन्दा बढी बेपत्ता भएका छन् ।
इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । घरमा रहेका ३ जना बेपत्ता छन् । पहिरोले पुरेर घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरी घटनास्थलमा पुगेकाले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।
मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बेपत्ता र मृतकको आधिकारिक संख्या आई नसकेको जानकारी दिइन् ।
त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् ।
अहिले पानी रोकिएपछि उद्धारको कार्य भइरहेको रहेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले बताए ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












