मनसुनजन्य विपद्ले लियो २२ जनाको ज्यान



काठमाडौँ । शुक्रवार रातिदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ ।

शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताए ।

उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो । हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिएपनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए । इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिए ।

उदयपुरको गिरेबी खोलामा केही मानिसहरु डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेको भट्टले बताए ।

उनकाअनुसार मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ । पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको उनले बताए । पाँच वटा ठूला नदीहरुमा नै बाढीको जोखिम रहेको छ। यातायात बन्दको निर्णयलाई पूर्ववत नै राखिएको जानकारी उनले दिए । विपद्को जोखिम अझै कायमै रहेको भन्दै शतर्कता अपनाउन भट्टले आग्रह गरे ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्