रसुवामा बेपत्ता भएका भक्तपुरका ४ जनामध्ये, ३ जना एकै परिवारका



भक्तपुर । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुलेको छ।

गोसाइँकुण्ड- स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता हुनेहरूमा भक्तपुर नगरपालिका-१० काठमाडौं बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ रहेका छन्।

संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका-४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिए। उनीहरू रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताए। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए।

बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए ।

यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो। लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरू थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरू थिमिको भएको समाचार सार्वजनिक भएको थियो।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्