इलाममा बिद्युत सेवा सूचारु
इलाम, २० असोज । बाढी पहिरोका कारण अवरुद्ध बनेको बिद्युत सेवा इलाममा ३६ घण्टा पछि सूचारु भएको छ ।
प्राधिकरण इलामले झापाको धुलाबारीस्थित पुरानो सर्किटमार्फत वैकल्पिक व्यवस्था मिलाए पछि सोमबार साँझबाट इलाममा बिद्युत सेवा सूचारु भएके हो ।
नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख बिजुली प्रसाद यादवले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजार, फिक्कल बजार, मंगलबारे बजार सहितका केहि ठाउमा बिजुली बाल्न सफल भएको बताउनुभयो ।
क्षतिग्रस्त बिद्युतको मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार साझदेखि विद्युत् आपूर्ति नियमित भएको उहाको भनाइ छ । प्रमुख यादवका अनुसार काबेली करिडोर प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । इलाम जिल्लामा बिहीबार राति ११ बजेदेखि विद्युत् अवरुद्ध भएको थियो ।
ग्रामीण क्षेत्रमा ११ हजार भोल्टका लाइनमा भएको क्षति र ठाउँ–ठाउँमा पोल तथा ट्रान्सफर्मर ढलेका कारण पूर्ण रूपमा विद्युत् आपूर्ति गर्न अझै केहि दिन लाग्नेछ ।बाढीले काबेली करिडोरको १३२ केभी प्रसारण लाइनको टावर ढालेको थियो ।
काबेली करिडोर १३२ केभी प्रसारण लाइन जिल्लामा ११ हजार भोल्टका धेरै पोल ढलेका छन् । केहि ठाउका ट्रान्सफर्मरमा पुगेको छ । बाढीले झापाको पाडाजुुंगीबाट इलामतर्फ ल्याइएको काबेली कोरिडोरका दुुई वटा विद्युत् टावरमा बाढीले क्षति पुुगेपछि इलाममा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
इलाम जिल्लामा जलविद्युत् आयोजना सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत् आयोजना इलाम जिल्लाका छन् ।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार












