टी–२० सिरिज : मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य
काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ७ विकेटको क्षतिमा १०३ रन बनाएको हो । उसका लागि विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरी र कविता कुँवरले तीन/तीन विकेट लिए । ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् भने कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर समान तीन विकेट हात पारेकी हुन् ।
नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।
यस्तै तेश्रो खेलमा नेपाल मलेशियासँग १३ रनले हारेको थियो भने हिजो भएको चौथो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार
















