महिला टी-२० आई सिरिज : मलेसियालाई ५ विकेटले हराउँदै नेपालको सानदार जित
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई सिरिज हात पारेको छ।
मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको सिरिज ३-२ ले जितेको हो।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् । मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् । नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनले पराजित भई चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो सिरिज भएको हो।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार
















