सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना सेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
२०८२ असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको ४६१औँ बैठकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ९० रहेको छ। यसअनुसार, रु. ७० करोड ४४ लाख ९९ हजार १० बराबरको बोनस सेयर र रु. ७७ करोड ९१ लाख ७५ हजार ९ सय ५ बराबरको नगद लाभांश प्रस्ताव गरिएको हो ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु. ३ अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३० प्रतिशतले वृद्धि भएको हो ।
वितरणयोग्य मुनाफा रु. १ अर्ब ८३ करोड कायम भए पनि बैंकले ऋणपत्रका लागि रु. १ अर्ब ४६ करोड जगेडा कोषमा विनियोजन गरेको छ।
यसरी गणना गर्दा बैंकको वास्तविक वितरणयोग्य मुनाफा रु. ३ अर्ब २९ करोड पुगेको छ, जुन २३.४१ प्रतिशतको प्रतिफल हो। असार मसान्तसम्म बैंकको नेटवर्थ रु. ३० अर्ब ९६ करोड पुगेको छ, जुन अघिल्लो वर्षभन्दा रु. २ अर्ब ८९ करोडले वृद्धि हो ।
प्रतिसेयर नेटवर्थ रु. २१९.७७ र प्रतिसेयर आम्दानी रु. २३.८९ कायम भएको छ। बैंकको निस्क्रिय कर्जा अनुपात २.६२ प्रतिशतमा सीमित रहेको छ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार
















