टी–२० विश्वकप छनोट : आज नेपाल र जापान भिड्दै
काठमाडौं, असोज २४ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानमा जारी छनोट खेल आज दिउँसो ४ः१५ बजे हुनेछ । एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन् ।
नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ ।
पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












