इजरायल–हमासबीच युद्धविराम : विपिन जोशीको स्थिति अझै अज्ञात
काठमाडौँ, असोज २४ । इजरायल र हमासबीच करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमतिपछि बन्धक रिहाइ हुनैलाग्दा नेपाली नागरिक बिपिन जोशीको अवस्था अझै अज्ञात छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युद्धविरामसँगै अर्को सातादेखि हमासको नियन्त्रणमा रहेका केही बन्धकहरूलाई मुक्त गर्ने प्रक्रिया सुरु हुनेछ ।
सहमति अनुसार हमासले बन्धकहरू छोड्ने र त्यसको सट्टामा इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ ।
गाजामा हाल ४८ जना बन्धक हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । तिनमध्ये करिब २० जना जीवित रहेको अनुमान गरिएको छ ।
त्यसैगरी, अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले शुक्रबार जीवित रहेको ठानिएका बन्धकहरूको सूची सार्वजनिक गरेको छ । तीमध्ये मतन अंग्रेस्त (२१), जिव बरम्यान (२७), गाली बरम्यान (२७), एलकाना बोहबोट (३४), रोम ब्राजलव्स्की (२१), निमरोड कोहेन (२०), गुए गिल्बोओ दलाल (२७), माक्सिम हरकिन (३६), एइटन हर्न (३८), सेगेव कालफोन (२७), बार कुपरस्टेन (२३), ओमरी मिरन (४७), एइटन अब्राहम मोर (२४), योसेफ चेम ओहाना (२४), एलन ओहेल (२३), एभिनाटन ओर (३१) र माटन जंगुकर (२५) रहेका छन् । यी बन्धकहरू कुन देशका नागरिक हुन् भन्ने विवरण सिएनएनले सार्वजनिक गरेको छैन ।
बाँकी रहेका २८ बन्धकमध्ये नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको अवस्था अझै अज्ञात रहेको सिएनएनले जनाएको छ । बुधबार मात्रै विपिनको परिवारले दुई वर्षअघि रेकर्ड गरिएको उनको एउटा भिडियो सार्वजनिक गरेको थियो।
उक्त भिडियो इजरायली अधिकारीहरूले विपिनको परिवारलाई उपलब्ध गराएका थिए । भिडियो २०२३ अक्टोबर ७ मा हमासले विपिनलाई बन्धक बनाएर गाजामा लगेको केही समयपछि खिचिएको थियो ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












