रुपन्देहीमा कुटपिटबाट युवकको हत्या, आठ जना पक्राउ
बुटवल, असोज २४ । रुपन्देहीको तिलोत्तमामा दशैँको बेला कुटपिट गरेर एक युवकको हत्या भएको खुलेको छ ।
जिल्लाको तिलोत्तमा तिलोत्तमा–१० स्वर्ग रोहिणी देवीघाट सगरहवामा आयोजित दुई दिने दशैं मेलामा २१ वर्षीय निरज थारूको कुटीकुटी हत्या गरि हत्या गरिएको घटना सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार असोज १६ र १७ गते संगम सहारा युवा क्लब तथा सगरहवा गाउँ समाजद्वारा संयुक्तरूपमा आयोजित मेलामा दुर्गामूर्ति विसर्जन गर्ने क्रममा पार्किङको ठेक्का लिएका व्यक्तिहरू र स्थानीय २१ वर्षीय युवक थारूबीच विवाद भएको थियो ।
प्रहरीका अनुसार त्यसक्रममा उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भिर घाइते भएका थारुलाई तत्काल उपचारका लागि उनलाई क्रिमशन अस्पताल मणिग्राममा लगिएको थियो । तर, अस्पतालमा भिडियो एक्सरेको सुविधा नभएकाले उनलाई राति देवदह मेडिकल कलेज पुर्याइएको थियो ।
असोज १७ गते राति भैरहवा मेडिकल कलेज लगिएका उनको भोलिपल्ट असोज १८ गते बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












