जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु



काठमाडौं । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन ।

‘विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो’, उनले भने, ‘मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।’

उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए। जापानिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्