हुम्लामा जिप दुर्घटना
सिमकोट। हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।
चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।
घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












