अब दैनिक २५ किलो सुन ल्याउन पाइने, रेमिट्यान्स सीमा पनि बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्याएको हो ।
अब देखि दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले २५ किलो आयात गर्न पाउने भएका छन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण हुँदै आएको छ ।
बजारमा सुनको माग बढेसँगै नेपाल राष्ट्र बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ।
साथै विश्व राजनीतिक परिवेशले सुन लागत नै बढेको हुँदा पनि मूल्य निरन्तर उकालो लागेको हो । तर, आज भने सुनको मूल्य घटेको छ ।
दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि नेपाल राष्ट्र बैंकले आयात कोटा बढाएको हो । पछिल्लो समयमा वाणिज्य बैंकहरुले पनि सुन आयात नगरेको अवस्था छ ।
त्यसैगरी नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा पनि बढाएको छ । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्याएको हो ।
शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै राष्ट्र बैंकले नेपाली र विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म÷कम्पनी संस्था र शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म÷कम्पनी÷संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने बनाएको छ ।
यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ ।
यसअघि भने २० लाख रुपैयाँसम्मको सीमा थियो । यस्तै, भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने बनाइएको छ । यसअघि भने मासिक रुपमा यस्तो विवरण बुझाउनुपर्ने थियो ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार
















