कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर दुई युवक प्रहरी चौकी पुगे



धनगढी, असोज २५ । कैलालीमा गएराति एक युवकको घाँटी रेटी हत्या गरिएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैमा रक्सी पार्टीमा विवाद हुँदा सोही वडाका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको कैलाली प्रहरीले जनाएको छ ।

हत्या गरेर दुई युवक हत्या गरिएका युवकको टाउको बोकेर प्रहरी चौकी पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीकेा प्रमुख एसपी नरेन्द्र बहादुर चन्दका अनुसार अनुसार राति करिब ११ बजे दुई रक्सी पार्टीका क्रममा विवाद चर्किएपछि घटना घटेको थियो ।

विवाद तीव्र बन्दै गएपछि १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले मिलेर बुढाको घाँटी रेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्या पश्चात् दुबै युवकले मृतकको टाउको हातमा बोकेर प्रतिखेत प्रहरी चौकी पुगेका थिए। उनीहरूले प्रहरीसमक्ष आफैंले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको टाउको हाल इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै छ। घटनाको प्रकृति गम्भीर रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्