गायिका आत्मदाह प्रयास: गायक बाबुल गिरी सोधपुछका लागि प्रहरी नियन्त्रणमा



काठमाडौं । गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) संग प्रहरीले सोधपुछ सुरु गरेको छ ।
शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमै शरीरमा आगो लगाएर गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको हो ।

प्रहरीका अनुसार पौडेल शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियो पुगेकी थिइन् । सोही क्रममा दुई पक्षबिच विवाद भएको थियो । विवादपछि उत्तेजनामा आएकी पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी छिन् । पौडेल गम्भीर घाइते छिन् । उनलाई उपचारका लागि तत्काल कीर्तिपुरस्थित अस्पताल राखिएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३३ वर्षीय गिरीले अनामनगरमा यम तिलक नामको स्टुडियो सञ्चालन गर्दै आएका थिए । ३२ वर्षीय पौडेल भने सोही स्टुडियोमा काम गर्थिन् । पौडेलले गीत गाउनुका साथै विभिन्न नाटकमा अभिनय पनि गर्दै आएकी छिन् । पौडेल र गिरी केही समययता प्रेममा थिए ।

सो घटनामा आगो निभाउने क्रममा गिरी पनि घाइते भएका छन् । गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्जलगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्