डोटीमा शिक्षिका खड्का मृत फेला, विद्यालय निरीक्षक रावल पक्राउ



धनगढी, कार्तिक १२ । डोटीको पुर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोट बस्ने २७ वर्षीया जानकी खड्का मृत फेला परेकी छन् ।

सोमबार साँझ उनी घरभन्दा ७ सय मिटर टाढा पाणादेउ खोला नजिक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी बाजुराको बुढिगङ्गा नगरपालिका-५ भानोदय माविमा निमावि तहको गणित शिक्षिकाका रुपमा कार्यरत थिइन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला शिक्षा तथा समन्वय इकाई डिटीमा कार्यरत विद्यालय निरीक्षक २८ वर्षीय गणेशबहादुर रावल पक्राउ परेका छन् । डोटीको शिखर नगरपालिका-११ मल्लिसात घर भएका उनलाई प्रहरीले दिपायलबाट पक्राउ गरेको हो ।

पीडित परिवारले रावलविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

मृतक खड्काले लेखेको ‘सुसाइड नोट’ पनि फेला परेको छ । सुसाइड नोट र अन्य प्रमाणपत्रका आधारमा आरोपी रावल पक्राउ परेका हुन् ।

पिडक रावलले मृतक खड्कालाई फोन गरेर विहे गर्न दवाव दिएको र त्यसो नगरे मारिदिने धम्की समेत दिएको पीडित परिवारको आरोप छ । उनले घटना भएकै दिन पनि मृतकका भाई प्रदिप खड्कालाईसमेत फोन गरेर तिम्रो दिदीले आफूसँग विहे नगरे ज्यान मारिदिने भनेर धम्की दिएको जाहेरीमा उल्लेख छ ।

यसअघि नै विहे गरेर छोराछोरी समेत भएका पीडक रावलले मृतक खड्कालाई सामाजिक संजाल फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ स्विकार नगरेको अवस्थामा पनि अन्यत्रबाट फोन नम्बर पत्ता लगाएर आफूसँग बिहे गर्न दवाव दिन सुरू गरेका थिए ।

नभटेको र नदेखेको मान्छेले विभिन्न वाहाना बनाएर फसाउन खोजेको र यसअघि नै विहे गरेर छोराछोरी भइसकेको मान्छेसँग जीवन जिउन नसक्ने भन्दै उनले गलत निर्णय लिन पुगेको सुसाइड नोटमा उल्लेख गरेकी छन् ।

पीडक रावल यसअघि पनि यस्तै खालका अन्य घटनाहरूमा पनि मुछिएको बताइएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्